पौष १४, सुनसरी । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबासँग ३ लाख धरौटी रकम माग गरिएको छ। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीमा भएको थुनछेक बहसपछि अदालतले सो रकम धरौटी माग गरेको हो।

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध १० वर्ष कैद सजाय माग गर्दै गत बिहीबार मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको थियो।

आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई २७ दिनअघि पक्राउ गरेको थियो। उनलाई २५ दिनसम्म अनुसन्धान गरेर बिहीबार मुद्दा दर्ता गराइएको थियो। सिद्धबाबाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको थियो।बलात्कारको आरोप प्रमाणित भएमा सो व्यवस्था अनुसार अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।