आज विहान ९ बजे मौन अवधिको समयमा चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ स्थित राप्रपाका जिल्ला नेता रामबहादुर थापाको खुल्ला आँगनमा करिव ३०–३५ जनाको समुहको भेला आयोजन गरी कांग्रेसका उम्मेदवार कृष्णराज भँडेलले निर्वाचन आचार संहिता विपरित कार्य गर्नुभएको हो । उम्मेदवार भँडेलले आयोजना गरेको उक्त भेलामा राप्रपाका केन्द्रीय सदस्य रविन्द्र प्रताप शाह, कांग्रेसका भक्तपुर नगरपालिका सभापति रविन्द्र प्रधानाङ्ग सहितको टोली रहेको थियो ।
उक्त टोलीले निर्वाचन आचार संहिता विपरित भेला गरिरहेको जानकारी पाएपछि स्थानीयवासीले प्रतिकार गरेको थियो । स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि प्रहरी समेत उक्त स्थानमा पुगेको थियो । प्रहरी पुगसँगै उक्त भेला तितर वितर भएको थियो । उक्त समुह तितर वितर भएसँगै उम्मेदवार भँडेल भने उक्त स्थानबाट फरार भएको स्रोतले जनाएको छ ।