पौष, १० सुर्खेत । कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोस्रो बैठक आजदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ ।

बैठकमा पहिलो बैठकका निर्णयहरुको समीक्षा, विज्ञहरुको कार्यपत्र प्रस्तुति, प्रदेश तथा स्थानीय तहका सरकार बीचको समन्वय तथा आगामी योजनाका सम्बन्धमा छलफल हुने बताइएको छ ।
बैठकबाट संघीयताको कार्यान्वयन, योजना निर्माण तथा कार्यान्वयन, कानून निर्माण तथा कार्यान्वयन सम्वन्धमा दुवै तहका नेतृत्वको बुझाइमा एकरुपता हुने, प्रदेश र स्थानीय तहहरुबीच समन्वय र सहकार्यको भावना प्रबर्धन भइ सेवा प्रवाह एवं विकास कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।
बैठकमा परिषद सदस्यको रुपमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सरकारका सचिवहरु, प्रदेशभित्रका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, प्रदेशभित्रका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु र विषयगत विज्ञहरुको सहभागिता रहेको छ ।