• २०८२ जेष्ठ ३० गते बिहिवार

भरतपुरमा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा विहानैदेखि माइकिङ

पढ्न लाग्ने समय : २ मिनेट

भदौ ९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । संचारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि जारी प्रदर्शन आइतबार उग्र बनेपछि प्रशासनले थप कडाई गर्न लागेको हो ।

आइतबार राती अबेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै आज विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने आदेश गरेको छ । भरतपुर महानगरपालिका १० स्थित मुद्धाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा चार किल्ला निर्धारण गरी भेला र प्रदर्शन निषेध गरिएको छ । तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले नागरिकको जिउधनलाई ध्यानमा राख्दै शान्ती, सुरक्षा कायम राख्ने उदेश्यले यस्तो आदेश गरिएको बताउनुभयो ।

प्रशासनले पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म र पश्चिममा पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म को क्षेत्रमा निषेध जारी गरेको छ । यस्तै उत्तरमा बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल,पुरानो मेडिकल कलेज जाने चोक,नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म र दक्षिणमा बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म पाँच जनाभन्दा बढि भेला र प्रदर्शन गर्न पाइने छैन् । निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रहरीले विहानैदेखि माइकिङ गरिरहेको छ ।

आइतबार मात्रै भरतपुरमा भएको झडपमा चार प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । सो क्रममा प्रहरीले १० जनालाई पक्राउ गरेको छ भने दर्जन बढि अश्रुग्याँस प्रहार गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्की बिरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो । एक नम्बर इजलाशमा अस्मिता कार्कीको बयान सकिएको छ ।

यस्तै रवि र युवराज कँडेलको आज बयान हुँदैछ । दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस सुरु हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । उनीहरू तीनै जना साउन ३० गते पक्राउ परेका हुन् । रविका समर्थकले भने निर्दोष रहेको दाबीसहित निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस