चैत १२,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

आयोगको मंगलबारको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
उक्त मुद्दामा घुस दिएको आरोपमा नेपाल इन्जिनिरयरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि विपक्षी बनाइएको छ । तर अख्तियारले घुस डिल भएको १५ लाख रुपैयाँ पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डीन एवं राजनारायणका भाइ शुभनारायणबारे भने कुनै निर्णय नगरेको स्रोतले बतायो ।
यस्तो छ विज्ञप्ती :
भक्तपुर जिल्ला, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्त्व विवादका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको विचाराधीन उजुरीलाई मिलाई दिने भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राज नारायण पाठकले सो कलेजका सञ्चालक भनिएका लम्बोदर कुमार न्यौपानेबाट रू. ७८,००,०००र( (अक्षेरूपी अठहत्तर लाखमात्र) रिसवत लिएको भनी संचार माध्यमहरुमा प्रकाशित समाचारहरुलाई उजुरीका रुपमा दर्ता गरी सो उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राज नारायण पाठकले आफ्नो पदीय आचरण विपरीतको कार्य गरी आयोगमा विचाराधीन रहेको जिल्ला भक्तपुर, चाँगु नारायणस्थित नेपाल इन्जिनियरिंग कलेजको स्वामित्व विवादसम्वन्धी उजुरी मिलाई दिने भनी उक्त कलेजका संचालक भनिएका लम्बोदर कुमार न्यौपानेले दिएको रु। ७८ लाख घुस रिसवत लिएको अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरुबाट समेत पुष्टि भएको देखिंदा उक्त कार्यमा संलग्न देहाय बमोजिमका व्यक्तिहरुउपर देहाय बमोजिमको मागदावी लिई विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।
साथै यसै प्रकरणसँग जोडिएका राज नारायण पाठकका भाइ शुभ नारायण पाठकले रिसवत लिएको भनिएको रु। १५ लाख नेपाल इन्जिनियरिंग कलेजसंग सम्वन्धित नरहेकोले निजले रिसवत लिएको भनिएको उक्त रु. १५ लाख नयाँ कलेज सम्वन्धनका लागि लिएको भन्ने सम्वन्धमा छुट्टै थप अनुसन्धान गर्ने निर्णयसमेत गरिएको छ।
प्रदीपकुमार कोइराला
प्रवक्ता