• २०८३ भाद्र १ गते सोमवार

विद्यालय अगाडि चिहान : कक्षाकोठाको झ्यालबाट चिहान चिहाउँदै पढ्दै नेपालगन्ज पुरैनाका विद्यार्थी

पढ्न लाग्ने समय : ३ मिनेट

पौष ७, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट (कब्रस्तान)को पर्खाल जोडिएको छ । विद्यालय आउने–जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ । श्मशानघाटलाई चारैतिरबाट पर्खालले घेरिएको छ, तर पर्खाल होचो भएकाले कक्षाकोठामा बसेर पढ्दा वा खेलमैदानमा खेल्दा कब्रस्तानमा गाडिएका चिहान र अन्तिम संस्कारका लागि ल्याएका शव प्रस्टसँग देखिन्छ । विद्यालयनजिकै कब्रस्तान हुँदा त्यहाँ हुने गतिविधिले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ ।

विद्यालय चलिरहेका वेलासमेत अन्तिम संस्कारका लागि शव ल्याउने र श्मशानघाटका चिहान प्रस्ट देखिने भएकाले विद्यार्थीमा त्रास उत्पन्न हुने गरेको छ । तर, यो प्रक्रिया वर्षौँदेखि चल्दै आएको छ । ०६३ अघि इस्लाम धर्मावलम्बीले विद्यालयको मुख्य द्वारअगाडि शव गाड्थे । यसले विद्यार्थी र शिक्षकलाई असहज भएपछि विद्यालयले आफ्नो जमिन दिएर उत्तरतर्फ श्मशानघाट सार्न अनुमति दिएको थियो । ‘१३ वर्षअघि चिहानमाथि हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता थियो । अहिले त धेरै राहत भएको छ,’ महाराजा माविका पूर्वविद्यार्थी विजय मल्लले भने, ‘चिहानमाथि नहिँडी विद्यालय पुग्न सकिने अवस्था थिएन ।’

विद्यालय आउजाउ गर्दा र अन्तिम संस्कारको समयमा डर लाग्ने गरेको विद्यार्थीहरू बताउँछन् । ‘बिहानको समयमा ट्युसन र कोचिङ पढ्न आउँदा शरीर नै सिरिंग हुन्छ,’ छात्रा पवित्रा सुनारले भनिन्, ‘दिउँसोको समयमा समेत एक्लै आउजाउ गर्दा डर लाग्छ । खेल्दाखेल्दै खेल सामग्री श्मशानघाटमा जान्छ । डराएर लिन जान हत्तपत्त कोही तयार हुँदैनन् ।’

विद्यालय सञ्चालनको समयमा शव गाड्न ल्याउँदा कक्षाकोठाको झ्यालहरू बन्द गर्नुपर्ने हुन्छ । श्मशानघाटमा हुने मृत्यु संस्कारको दृश्य नदेखियोस् भनेर विद्यार्थीले कक्षाकोठाका झ्याल लगाउने गरेको विद्यालयका प्रधानाध्यापक हरिहरप्रसाद दीक्षितले बताए । ‘श्मशानघाटछेउमा विद्यालय नहुनुपर्ने हो, अन्यत्र जमिन नभएको भन्दै विद्यालय नजिकै घाट बनाइयो, यसले विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको छ,’ दीक्षितले भने, ‘गाडेको शवको दुर्गन्ध कक्षाकोठासम्मै पुग्छ । यसले विद्यार्थीमा मानसिक असर परेको छ ।’

चिहान नदेखिने गरी पर्खाल लगाउन विद्यार्थीको माग
चिहान नदेखिने गरी घाटको व्यवस्थापन गर्न विद्यार्थी र शिक्षकले माग गरेका छन् । पठनपाठनमा असर पर्ने भएकाले विद्यालय प्रांगणबाट नदेखिने गरी पर्खाल लगाउनुपर्ने उनीहरूको भनाइ छ । विद्यालय आउजाउ गर्दा मात्र नभई कक्षाकोठामा अध्ययन गर्दा र खेल्दासमेत चिहान तथा गाड्दै गरेको शव देखिने भएकाले विद्यार्थीको पठनपाठनमा असर परेको शिक्षिका मञ्जु थापाले बताइन् । ‘पढ्ने र पढाउने वेला विद्यार्थी–शिक्षकको ध्यान घाटका चिहान र शवमा जान्छ, यसले विद्यार्थी र शिक्षकको ध्यान भंग हुन्छ,’ थापाले भनिन्, ‘श्मसानघाटमा हुने गतिविधि नदेखिने गरी पर्खाल भयो भने अध्ययन अध्यापनमा सहज हुन्थ्यो ।’

महाराजा माध्यमिक विद्यालय २०१० सालमा स्थापना भएको हो । त्यसअघिदेखि नै विद्यालयनजिक इस्लाम धर्मावलम्बीको कब्रस्तान थियो । उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्ये महाराजा पनि एक हो । विद्यालयनजिक रहेको कब्रस्थानमा पुरैना गाउँ, फुल्टेक्रा, नहरुपूर्वालगायत ठाउँबाट अन्तिम संस्कारका लागि आउने गरेका छन् । कब्रस्तानका कारण विद्यालय अन्यत्र सार्न स्थानीय सरकारलाई निवेदन दिए पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक दीक्षितले बताए । ‘अन्यत्र सार्न नसकिए पनि घाटको क्रियाकलाप नदेखिने गरी अग्लो पर्खाल लगाउने हो भने केही हदसम्म त्रास कम गर्न सकिन्थ्यो,’ उनले भने । अहिले इस्लाम धर्मावलम्बीको कब्रस्थान भएको जमिन पनि यसअघि विद्यालयकै नाममा थियो । इस्लाम धर्मावलम्बीले विद्यालयको मुख्य द्वारमै शव गाड्न थालेपछि बाध्य भएर विद्यालयले दोब्बर जमिन दिएर श्मसानघाट स्थानान्तरण गरेका थिए ।

पर्खाल अग्लो बनाउने वडाध्यक्ष खाँको प्रतिबद्धता
शिक्षक र विद्यार्थीलाई असर परेपछि विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष चुम्मन राँढ र तत्कालीन प्रधानाध्यापक श्यामविहारी गुप्ताले इस्लाम धर्मावलम्बीसँगको सहमतिमा जमिन सट्टापट्टा गरेका थिए । कब्रस्थानले पठनपाठनमा असर परेको गुनासो आएपछि नेपालगन्ज उपमहानगरपालिका–२१ का वडाध्यक्ष रञ्जित खाँले तत्कालै सार्न सकिने अवस्था नरहेको बताए । उनले विद्यार्थी र शिक्षकको माग जायज भएको बताउँदै पर्खाल अग्लो बनाएर विद्यार्थीमा परेको समस्या समाधान गरिने बताए । अन्यत्र सार्न नसकिए पनि अग्लो पर्खाल लगाएर शिक्षक र विद्यार्थीमा पर्ने असर कम गर्न वडा कार्यालयले पहल गर्ने उनको भनाइ छ । चालू आर्थिक वर्षको बजेटबाट पाँच फिट अग्लो पर्खाल बनाउने बताउँदै उनले आगामी वर्षको बजेटबाट १० फिट अग्लो बनाउने जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकको लागि विश्वराज पछडङ्ग्याले तयार पार्नु भएके हो ।

Sharing

प्रतिक्रिया दिनुहोस