असार ८ ,सुर्खेत । मुख्यमन्त्री नै प्रदेशसभाको बैठकमा उपस्थित नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७६/ ०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै कांग्रेसले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बजेटजस्तो महत्वपूर्ण छलफलका क्रममा प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने क्रममा मुख्यमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने बताउँनुभयो ।
‘बजेटजस्तो संवेदनशील विषयमा छलफल गर्दा मुख्यमन्त्री उपस्थित नहुनु गम्भीर विषय हो’ प्रमुख प्रतिपक्षी दलका नेता शाहीले भन्नुभयो ।
‘संसदमा मुख्यमन्त्रीको उपस्थिति नहुँदासम्म बैठक सञ्चालन नदिने भन्दै प्रतिपक्षका नेताहरुले अडान लिएका थिए । असार १ गते प्रस्तुत भएको बजेटमाथि शुक्रबारदेखि छलफल गर्ने भनिए पनि विना कारण बैठक स्थगित गरिएको समेत नेता शाहीले आरोप लागाउँनुभयो ।
‘निष्ठा, सत्यता र संसदीय मर्यादाका लागि संसद अवरोध गरेका हौं’ प्रमुख प्रतिपक्षी दलका नेता शाहीले भन्नुभयो, ‘मुख्यमन्त्री नआउँदासम्म बैठक सुचारु हुन दिँदैनौं ।’ कांग्रेसको अवरोधपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।