• २०८२ जेष्ठ ३० गते बिहिवार

पैसा बाँड्दै धर्म परिवर्तन गराउने दुई विदेशीसहित पाँच जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, दाङ । पैसा बाँड्दै धर्म परिवर्तन गराउने कार्य गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताउनु भयो ।पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको प्रहरी प्रमुख पान्डेले जानकारी दिनुभयो । अमेरिकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाण्डौलाई चिठी लेखेको उहाँले बताउनु भयो । मानिसहरुलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि पक्राउ गरिएको पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस