कार्तिक ५, काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका गायक दुर्गेश थापा छुटेका छन । गायक थापाले परिसरभित्रै मोबाइलबाट गीत डिलिट गरेपछि छुटेका छन् । उनका अनुसार प्रहरीले उनलाई गीतमा प्रयोग भएको ‘बियर’ र ‘गाँजा’ जस्ता शब्द हटाएर पुनः अपलोड गर्न अनुमति दिएको छ ।
‘कानूनबाट भाग्न सकिँदैन, जहाँ भए पनि समाउँछ, खासमा यो ठूलो इस्यु पनि थिएन, मिडियामा यो समाचार ठूलोजस्तो बनेर आयो,’ गायक थापाले भने, ‘काम गर्दै जाँदा कहिलेकाहीँ खुट्टा लरखराउँछ, त्यो गल्ती स्वीकार्नुपर्छ ।’
यो घटनाले आफू थप सचेत भएको बताउदैं गायक थापाले प्रहरीले आफूलाई गाँजा शब्दको खुलेआम प्रचार नगर्न भनेको र आफूले अबका दिनमा थप सचेत बन्दै संगीत सिर्जना गर्ने बताए । उनले भने ‘उहाँहरुले गाँजा शब्दलाई खुलेआम प्रचार गर्न पाइँदैन, गीतका शब्द हटाएर पुनः अपलोड गर्नुस् भन्नुभयो,’ म ती शब्द हटाएर चौबीस घण्टाभित्र अपलोड गर्छु ।’