असार ६, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा उरुग्वेलाई एसियाली टोली जापानले बराबरीमा रोकेको छ । समूह `सी` अन्तर्गत शुक्रबार बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा जापानले २५औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । जापानका लागि कोजी मियोसीले गोल गरे । कोजीले गाकु सिवासाकीको पासमा गोल गरेका थिए । जापानको अग्रतापछि आक्रामक बनेको उरुग्वेले ३२औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काएको थियो । उरुग्वेका लुईस स्वारेजले पेनाल्टीको सदुपयोग गरे । जापानका नाओमिचीले उरुग्वेका एडिन्सन काभानीलाई डिबक्स भित्र लडाएपछि उरुग्वेले पेनाल्टी पाएको थियो ।
जापानले ५९औं मिनेटमा पुनः अग्रता लियो । कोजीले ब्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई अगाडी बढाए । कोजीले रिवाउन्ड बलमा गोल उत्कृष्ट गरेका थिए । त्यसपछि उरुग्वेले ६६औं मिनेटमा बराबरी गोल गरेको थियो । उरुग्वेका जोसे जिमिनेजले गोल गरे । जिमिनेजले निकोलस लोडीएरोको कर्नर पासमा हेडमार्फत गोल गरेका थिए ।
पहिलो र दोस्रो हाफमा लगातार गोल गर्ने अवसर वनाएको उरुग्वे अन्तिममा अंक बाँड्न बाध्य भयो । स्वारेज लगातार चुकेका थिए । बराबरीसँगै उरुग्वे समूहको शीर्ष स्थानमा छ । उरुग्वेले दुई खेलबाट चार अंक बनाएको छ । एक अंक जोडेको जापान तेस्रो स्थानमा छ । तीन अंक बनाएको चिली दोस्रो र अंकविहिन इक्वेडर अन्तिममा छ ।