मंसिर १९ ,काठमाडौँ । मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले त्यसका तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई बोलाएको छ ।
औषधि खरिद अनियमितताबारे अनुसन्धान थालेको अख्तियारले बिहीबार डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो । आयोगले डा. सिंहलाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क गर्न निर्देशन दिएको छ । नआएमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि आयोगले दिएको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौंडाले आर्थिक वर्ष ०७२/७३ र ०७३/७४ मा निःशुल्क वितरण गर्ने औषधि खरिद गरेको थियो । यी दुवै आर्थिक वर्षमा औषधि खरिदका लागि छुट्याइएको विनियोजित बजेट खर्च गर्दा अनियमितता भएको उजुरी परेको छ ।