• २०८२ साउन ४ गते शनिवार

स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनमा सरकार लागेको उनले सन्देशमा उल्लेख गरेका छन् । यही क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार पारेको स्मरण गराउँदै उनले पूर्व प्रतिवद्धताअनुरुप नै आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने प्रतिबद्धता दोहोर्‍याएका छन् । सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो ।

देशभित्र रोजगारी सिर्जना गर्ने काममा पनि सरकारले गम्भीरतापूर्वक काम गरेको प्रधानमन्त्रीको भनाइ छ । देशभित्र रोजगारी सिर्जना गर्ने उद्देश्यकै लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको जानकारी दिँदै उनले यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना हुने बताए ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न उत्पादकत्व वृद्धि गर्ने ठोस योजनाका साथ सरकार अघि बढेकोसमेत सन्देशमा उल्लेख गरेका छन् ।

आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै विश्वभर छरिएर रहेका नेपाली श्रमजीवीप्रति सुख, शान्ति र समृद्धिको शुभकामना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस