माघ ९, काठमाडौं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफकी रश्मीकुमारी घिसिङ र अनिता बस्नेतले १/१ गोल गरे । आर्मीकी अमिशा कार्कीले गोल गरिन् ।
योसँगै एपीएफले ८ वटै खेल जितेर अपराजित रहँदै दोस्रो चरण सकाएको छ । दोस्रो चरणमा आर्मी दोस्रो भएको छ । यस्तै नेपाल पुलिस क्लब तेस्रो र बाग्मती युथ क्लब चौथो भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका भने बाहिरिएको छ ।
अब प्लेअफ अन्तर्गत इलिमिनेटरमा पर्सि शुक्रवार पुलिस र बाग्मती युथ खेल्दैछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । यस्तै पहिलो क्वालिफायर शनिवार एपीएफ र आर्मी खेल्दैछन् । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले दोस्रो क्वालिफायरमा इनिमिनेटरको विजेतासँग खेल्नेछ ।
एन्फा महिला लिगको उपाधिका लागि फाइनल खेल माघ १६ गते बुधवार हुनेछ ।