माघ ९, काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नेपाललाई १ सय ४० रनकाे लक्ष्य दिएकाे छ । मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायाे ।
अस्ट्रेलियाकी काओइम्हे ब्रेले ४५ रन बनाइन् । नेपालकी कप्तान पूजा महताेले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो । यसअघि २ खेलमा पराजित नेपाललाई ‘सुपर सिक्स’ मा पुग्न समूह चरणकाे यो अन्तिम खेल जित्नुपर्ने हुन्छ । नेपालले पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेलेको हो ।
प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।
हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।