वैशाख ६, काठमाडौं । पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। एफसी चितवनलाई निरिह तुल्याउँदै ३-० को हार चखाउन पोखरा सफल रहयो। पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। पोखराको जितमा जो आइडोले दुई गोल गरे।
पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा १३ मिनेटभित्र पोखराले ३ गोल गर्दै चितवनलाई स्तब्ध बनायो। पहिलो पटक प्ले अफ पुगेको चितवनको यात्रा भने इलिमिनेटरमा नै टुङ्गियो।
अब पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग बुधवार फाइनल प्रवेशको लागि खेल्नेछ। पहिलो क्वालिफायरमा धनगढीलाई २-१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ।
एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो।
यो सिजन पोखराले सुरूवाती दुई खेल गुमाएपनि उत्कृष्ट कमब्याककासाथ दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको थियो। पोखरा गत सिजन अंक तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो। जहाँ पहिलो र दोस्रो दुवै क्वालिफायर हार्दै फाइनलमा पुग्न असफल भएको थियो।