फागुन ७, काठमाडौं । नयाँदिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन् । आज साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखड पर्यवेक्षक तोकेको थियो । ओमप्रकाशसहित साँझ बसेको दलको बैठकले गुप्तालाई मुख्यमन्त्री चुन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।
नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ । गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए ।
गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।