फागुन ७, काठमाडौं । पाकिस्तानका बाबर आजमलाई पछि पार्दै भारतका शुभमन गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) वरीयताको शीर्ष स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङतर्फ ७९६ अङ्कसहित पहिलो स्थानमा पुगेका हुन् ।
बाबर आजम ७७३ अङ्कसहित दोस्रो स्थानमा छन् । एकदिवसीय ब्याटिङ वरीयतामा भारतका कप्तान रोहित शर्मा तेस्रो स्थानमा यथावत् छन् । यस्तै एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खानलाई पछि पार्दै श्रीलङ्काका महीष तीक्षणा ६८० अङ्कसहित शीर्ष स्थानमा पुगेका छन् । राशिद खान ६६९ अङ्कसहित दोस्रो स्थानमा छन् । एकदिवसीय बलिङ वरीयतामा नामिबियाका बर्नार्ड शोल्ट्ज तेस्रो स्थानमा यथावत् छन् ।
यस्तै एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नबी शीर्ष स्थानमा, जिम्बावेका सिकन्दर रजा दोस्रो स्थानमा र अफगानिस्तानकै अजमतुल्लाह ओमरजाई तेस्रो स्थानमा यथावत् छन् ।