फागुन ७, काठमाडौँ । काठमाण्डौ विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको यूएस आईक्यूएअरका अनुसार बिहान ११ बजेसम्म काठमाण्डौको वायु प्रदूषण २३२ एक्यूआई मापन गरिएको छ ।
बङ्गलादेशको ढाका प्रदूषित शहरको शीर्ष स्थानमा छ । त्यहाँँको वायु प्रदूषण २४५ एक्यूआई मापन गरिएको छ । युगान्डाको कम्पला तेस्रो स्थानमा छ । छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली चौथो स्थानमा छ ।
५० एक्यूआई भन्दामाथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ । यसैबीच काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । वातावरण विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै वायु प्रदूषण ललितपुरको भैँसीपाटीमा रहेको छ । भैँसीपाटीमा रहेको मापन केन्द्रले वायु प्रदूषण मापन सूचक (एक्यूआई) ३२६ सम्म देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई ३०० भन्दामाथि हुनु भनेको घातक अवस्था हो । केही दिनदेखि मौसम धुम्म भएको र पानी नपरेका कारण पनि वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।