• २०८२ जेष्ठ २ गते बिहिवार

प्रधानमन्त्री ओलीले भोली भरतपुरको ६ लेन सडक उद्घाटन गर्नुहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ४, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवन आउने हुनुभएको छ । भरतपुरको गोन्द्राङदेखि पुल्चोक नारायणगढसम्मको आकर्षक र सुन्दर देखिने ६ लेन सडकको उद्घाटन गर्न उहाँ चितवन आउने कार्यक्रम तय भएको हो। उक्त अवसरमा उहाँले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनसमेत उद्घाटन गर्नु हुनेछ भने नारायणगढ–बुटवल सडक खण्डको निरीक्षण पनि गर्नुहुनेछ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत चितवन पुग्ने कार्यक्रम तय भएको छ। गत चैत २५ गते नै उद्घाटनको तयारी गरिए पनि कार्यव्यस्तताका कारण स्थगित गरिएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न हुँदैछ।

एशियाली मापदण्डअनुसार निर्माण
प्रधानमन्त्री ओलीले २०७७ माघ २७ गते शिलान्यास गर्नुभएको गोन्द्राङ–नारायणगढ ६.०८ किलोमिटर लामो ६ लेन सडक एशियाली मापदण्डअनुसार निर्माण गरिएको हो। करिब १ अर्ब १२ करोड रुपैयाँको लागतमा सगुन कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय भरतपुरलाई हस्तान्तरण गरिसकेको छ।

सडक निर्माण सकिएको पाँच वर्षभित्र समस्या आएमा ठेकेदार कम्पनीले मर्मत गर्ने जिम्मेवारी लिएको छ।

पहिले दुई लेन मात्रै रहेको यो सडक अब बीचमा चार लेन मुख्य सडक र दुबै छेउमा १÷१ सर्भिस लेनसहित ६ लेनको भएको छ। साथसाथै, ६ सयभन्दा बढी स्मार्ट बत्ती जडान गरिएको र रातको समयमा सडक झिलिमिली देखिने बताइएको छ।

सडकमा ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, लेन लाइनिङ, र ट्राफिक लाइट जडानको तयारीले सडक अझ आकर्षक देखिएको छ। मेडियनमा दूबो र फूलबिरुवा लगाइएको छ भने दुबै छेउमा तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ।

भरतपुर ओरालोमा दुर्घटना न्यूनीकरणका लागि ‘स्लोप’ घटाइएको छ। यसमा ६० सेन्टिमिटरदेखि १.२ मिटर उचाइ घटाइएको छ। साथै, फुटपाथ, ढल, सर्भिस लेन, विद्युत अन्डरग्राउन्ड, र वर्षाको पानी निकासका लागि दुईतर्फ ड्रेनेजको व्यवस्था गरिएको छ।

इच्छाकामना गाउँपालिका भवनको उद्घाटन
प्रधानमन्त्री ओलीले चितवनकै एकमात्र गाउँपालिका इच्छाकामनाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन पनि गर्नुहुनेछ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार, शुक्रबार बिहान ११ बजे उद्घाटन कार्यक्रम तय गरिएको हो। कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।

एमाले महानगर अधिवेशनको उद्घाटन
प्रधानमन्त्री ओलीले नेकपा एमालेका अध्यक्षको हैसियतले भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन पनि गर्नुहुनेछ। उक्त कार्यक्रम भरतपुरस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा आयोजना गरिने एमाले चितवन अध्यक्ष कमलराज पाठकले जानकारी दिनुभयो।

नारायणगढ–बुटवल सडक निरीक्षण
उद्घाटन कार्यक्रमपछि प्रधानमन्त्री ओलीले नारायणगढ–बुटवल सडकखण्डको अनुगमन गर्ने र त्यस क्रममा नवलपुरका जनप्रतिनिधिसँग छलफल पनि गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस