आज वि.सं. २०८२ वैशाख ०३ गते बुधवार तदनुसार ई. सं. २०२५ अप्रिल १६ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रास्त : बिहान ०८:०४ बजे र चन्द्रोदय : बेलुका ०८:२८ बजे, सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:२९ बजे, वैशाख कृष्णपक्ष (चौलागा) तृतीया तिथि, दिउँसो १०:५८ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अनुराधा नक्षत्र, भोलि बिहान ०३:३९ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सोच्ने सामर्थ्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने राम्रो दिन छ ।