आज वि.सं. २०८१ फाल्गुन ०४ गते आइतवार तदनुसार ई. सं. २०२५ फेब्रुवरी १६ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रास्त : बिहान ०९:१२ बजे र चन्द्रोदय : बेलुका ०८:३६ बजे, सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, पोखरा, फाल्गुन कृष्णपक्ष (सिल्लागा) चतुर्थी÷चौथी तिथि, मध्यरात्रीपछि १२:३६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, हस्ता नक्षत्र, भोलि बिहान ०३:१५ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रिसराग र अहङ्कार बढ्ने दिन हो, झैझगडा र मुद्दामामिलामा अघि नसर्नु होला, अनि स्वास्थ्यमा कमजोरी देखिएमा पटक्कै हेलचक्र्याइँ गर्नु हुँदैन । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । परिश्रमको प्रतिफल पाउने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रूप, लावण्य, सौन्दर्य र जीवनशैली देखेर अरु पनि प्रभावित हुनसक्छन् । आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो ।