• २०८२ बैशाख ४ गते बिहिवार

अमेरिकासँगको बढ्दो व्यापार युद्धका बीच चीनले बहुमूल्य धातुहरूको निर्यात रोक्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, काठमाडौं । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले ७ थरीका बहुमूल्य धातुहरूको निर्यात रोकेको छ । चीनले आफ्ना बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र मिसाइलसम्म सबै चिजहरू जम्मा गर्न आवश्यक पर्ने चुम्बकहरूको ढुवानीलाई पनि रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यी सामग्रीहरू अटोमोबाइल, अर्धचालक र एअरोस्पेस व्यवसायहरूका लागि निकै महत्त्वपूर्ण छन् । चीनको यो निर्णयले विश्वभरका मोटर गाडी, विमान, अर्धचालक र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ । यी सामग्रीहरू महँगा हुने खबरमा उल्लेख छ ।

चीनले अप्रिल ४ मा समेरियम, ग्याडोलिनियम, टरबियम, डिसप्रोसियम, ल्युटेटियम, स्केन्डियम र यिट्रियम गरी ७ बहुमूल्य धातुहरूको निर्यातमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो । आदेशानुसार यी बहुमूल्यय धातुहरू र तिनीहरूबाट बनेका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र देशबाट बाहिर पठाउन सकिन्छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने स्मार्टफोन र अन्य प्राविधिक उत्पादनहरूमा दिइएको कर छुट अल्पकालीन हुनसक्ने बताउनुभएको छ । ‘जस्तालाई त्यस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म पुगेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।

प्रतिक्रिया दिनुहोस