पुस २७, काठमाडौं । प्रकाश सपुतको पहिलो निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक भएको छ, जसले दर्शक तथा श्रोताहरूको उत्सुकता थप उचाइमा पुर्याएको छ। प्रकाश सपुत र शान्ति श्री परियारको स्वर तथा सपुतकै शब्द र संगीतले सजिएको यो गीत शनिबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा ग्रामीण परिवेशको झलक, बागलुङ क्षेत्रका परम्परागत यानिमाया, सालैजो, घाँसदाउरा तथा मेलापातका दृश्यहरू देख्न पाइन्छ। यसले नेपाली मौलिकतालाई पुनः जागृत गर्न मद्दत पुग्ने सम्भावना देखिन्छ। भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन्। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् भने सम्पादन प्रविन भट्टको रहेको छ।
‘वसन्त’ सामाजिक विषयवस्तुमा आधारित सोसल ड्रामा हो, जसमा विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्ने सपना साकार गर्न गरेको संघर्षको कथा समेटिएको छ। सिनेमाका कथा, पटकथा र संगीत समेत सपुतकै सिर्जना हुन्। सिनेमामा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने यो सिनेमा आगामी चैत्र २२ गते प्रदर्शन हुने छ। सिनेमाका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् भने कार्यकारी निर्माताको भूमिकामा अनुरोध भट्टराई, नाना थकाली, र विरेन्द्र नारायण श्रेष्ठ छन्। सिनेमाको छायांकन सुसन प्रजापतिले गरेका हुन्।
काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमा वितरण गर्नेछन्। निर्देशक सपुतले सिनेमा निर्माणमा निकै मेहनत गरेको बताउँदै, यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।