आज वि.सं. २०८१ पौष २४ गते बुधवार तदनुसार ई. सं. २०२५ जनवरी ०८ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, चन्द्रोदय : दिउँसो १२:५९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:५९ बजे, सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, पौष शुक्लपक्ष (पोहेलाथ्व) नवमी तिथि, दिउँसो ०२:०४ बजेसम्म, त्यसपछि दशमी तिथि, अश्विनी नक्षत्र, साँझ ०४:३५ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । जुनसुकै कुरामा ढुक्क हुने परिस्थिति छैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूणर् पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ । पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ ।