फागुन २३, काठमाडौं । उच्च पहाडी तथा हिमाली भेगका धेरैजसो ठाउँको मौसम साधारणदेखि आंशिक बदली भएको छ । बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र थोरै ठाउँमा हल्का वर्षाको पनि सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताउनुभयो । यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज मधेश र लुम्बिनी प्रदेशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । केही दिन अघि बढेको तापक्रम मौसम बदलीका कारण फेरि घट्न थालेको छ । हिजो जनकपुरको तापक्रम सबैभन्दा धेरै २७ दशमलव ४ डिग्री सेल्सियससम्म पुगेको थियो ।
काठमाण्डौ उपत्यकाको तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । काठमाण्डौ उपत्यकामा आज पनि तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।