मंसिर ११, काठमाडौँ । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै ‘पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद पुगेको छ । पीटीआईका कार्यकर्ताहरू प्रमुख सरकारी भवनहरू नजिक रहेको डी चोक वा डेमोक्रेसी स्क्वायरमा पुग्दा उनीहरूलाई सशस्त्र बलहरूले अश्रुग्यास प्रहार गरेका बीबीसीले जनाएको छ ।
सरकारले नै सडक बन्द गर्दै विभिन्न अवरोध सिर्जना गरे पनि हजारौं मानिस इस्लामाबाद प्रवेश गरेका हुन् । इस्लामाबादका डेपुटी कमिस्नर इरफान नवाज मेमनले प्रदर्शनकारीहरूलाई प्रहरी र अर्धसैनिक बलहरूले नरोकेको र अवस्था अहिले शान्तिपूर्ण रहेको बताएका खबरमा उल्लेख छ ।
पूर्वप्रधानमन्त्री इमरान खानको आह्वानमा आइतवारदेखि शुरू भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् । अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछाड्ने प्रदर्शनकारीहरूले बताएका छन् ।
सरकारले गएको शनिवार रातिदेखि राजधानी प्रवेश गर्ने सबै नाका बन्द गरेको छ । मोबाइल इन्टरनेट छिटपुट रूपमा काटिएको छ ।
सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका इमरान खानलाई गएको वर्षदेखि भ्रष्टाचार र दङ्गा भड्काउने लगायतका कानूनी आरोपहरू लगाएर जेलमा थुनिएको छ । यस वर्षको चुनावमा पीटीआईले सबैभन्दा धेरै सिट जिते पनि सैन्य प्रभावमा बढी लचिलो मानिने दलहरूको गठबन्धनले उसलाई सत्ताबाट बाहिर राखेको छ ।