• २०८१ मङ्सिर २२ गते शनिवार

इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल प्रदर्शन

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १०, काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै उहाँको पार्टी ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उहाँका समर्थकहरूले ठूलो प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री खानको रिहाइको माग गर्दै उनीहरूले इस्लामाबादतर्फ र्‍याली शुरू गरेका बीबीसीले जनाएको छ ।

इमरान खानको अपीलमा हिजो प्रदर्शन शुरू भएको थियो । पीटीआईका कार्यकर्ता र समर्थकहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामाबादतर्फ लागिरहेका छन् । इस्लामाबादको डी चोक नजिक प्रधानमन्त्री आवास, संसद् र सर्वाेच्च अदालतका साथै अरू महत्त्वपूर्ण सरकारी कार्यालय रहेका छन् । डी चोकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

इस्लामाबाद प्रहरीले डी चोकमा चार जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको खबरमा उल्लेख छ । प्रदर्शनलाई मध्यनजर गर्दै इस्लामाबाद जोड्ने राजमार्गहरू सरकारले नै बन्द गरेको छ भने केही क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा निलम्बन गरेको छ ।

पीटीआईले इमरान खानलाई रिहा गर्न माग गर्दै आएको छ । विरोध र्‍यालीमा इमरान खानकी पत्नी बुशरा बीबी पनि सहभागी हुनुहुन्छ ।

विरोध र्‍यालीका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । इस्लामाबाद प्रहरीले प्रदर्शनकारीले ढुङ्गामुढा गरेको बताएको छ भने पीटीआई कार्यकर्ताहरूले प्रहरीले अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको दाबी गरेका छन् । इस्लामाबाद प्रहरीले आफ्ना १४ जना अधिकारी घाइते भएका बताएको छ ।

प्रतिक्रिया दिनुहोस