• २०८२ बैशाख ४ गते बिहिवार

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले लुम्बिनीलाई सात विकेटले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ११, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेको विभागीय टोली एपीएफ क्लबको यो तेस्रो जित हो ।

सिद्धार्थनगर रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले ४१ ओभरमै अलआउट हुनुअघि एक सय ३३ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले २२.३ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ३५ रन बनाउँदै विजय भयाे । एपीएफ क्लबको जितमा कप्तान रोहित पौडेलले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ५२ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका रोहितले केवल ४८ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान पुरण बीक भने ३३ रनमा अविजित रहे । उनले ५७ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे । अमर रौतेला आठ रनमा अविजित रहे । उनले दुई बलमा एक छक्का पनि हिर्काएका थिए ।

टोलीको कुल स्कोर केवल २८ रन हुँदा एपीएफ क्लबले आफ्ना दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । प्रज्ज्वल शाही पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए । अर्का ओपनर लोकेश बम पनि १६ रन बनाउँदै आउट भएका थिए । त्यसपछि कप्तान रोहित र पुरणले नै एपीएफलाई जितको नजिकसम्म पु¥याएका थिए ।

एपीएफ क्लबले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । एपीएफ क्लबलाई झिनो विजयलक्ष्य दिएको लुम्बिनी प्रदेशका बलर पनि खासै प्रभावकारी देखिएनन् । मोहम्मद हुसैन, कृष्ण कार्की र इकलख अहमदले एक–एक विकेट लिए ।

लुम्बिनी प्रदेशका लागि दिलसाद अलीले सर्वाधिक अविजित ३९ रनको योगदान गरेका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका दिलसाद अलीले ४२ बलको सामना गरी पाँच चौका प्रहार गरे । त्यसअघि ओपनर ब्याट्सम्यानद्वय मृनाल गुरुङ र बिराट भण्डारीले टोलीका लागि ३९ रनको साझेदारी गरेका थिए । मृनालले ३४ रन बनाए । उनले ८८ बलमा तीन चौका प्रहार गरे । बिराटले पनि टोलीको खातामा २३ रन थपे । उनले ५१ बलमा चार चौका हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान प्रज्ज्वल थापाले पनि ११ रन बनाएका थिए ।

एपीएफ क्लबका रमेश कुर्मी एक्लैले पाँच विकेट लिए । भुवन कार्कीले पनि तीन विकेट लिए । रोहित पौडेल र मौसम ढकालले पनि एक–एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस