चैत्र १०, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो ।
महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको बताए । “उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हाजिरी जमानीमा छाडिएको हो ।”