आज वि.सं. २०८० फाल्गुन १० गते बिहीवार तदनुसार ई. सं. २०२४ फेब्रुवरी २२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो ०४:१४ बजे र चन्द्रास्त : भोलि बिहान ०४:३७ बजे, सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, माघ शुक्लपक्ष (सिल्लाथ्व) त्रयोदशी तिथि, दिउँसो ०१:५६ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, पुष्य (तिष्य) नक्षत्र, साँझ ०५:२७ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । कार्यक्षेत्रमा उत्साहवर्द्धक परिणाम प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । धैर्य र संयम भएर काम गर्ने समय हो, नत्र सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । सानातिना झंझट वा विवादबाट जोगिनुपर्ने समय हो, ससाना कुरामा दिक्क लाग्ने समय छ । घरमा सम्पर्क गरी जीवनसाथीका भावना बुझ्नु राम्रो हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुनसक्ने समय छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्द्धामा विजय प्राप्त हुने दिन हो ।