• २०८१ साउन १ गते मङ्गलवार

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : बागमतीसँग कर्णाली ७ विकेटले पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले हराएकाे छ । मूलपानी क्रिकेट मैदानमा आज बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली २४ ओभर दुई बलमै ७८ रन बनाएर अलआउट भयो । ओपनिङमा आएका रवीन्द्र शामीलाई ३ र दीपेन्द्र रावतलाई एक रनमा रिजन ढकालले बोल्ड गरे । १३ रन बनाएका निश्चल रावललाई विपिन आचार्यले कट एन्ड बोल्ड गरेपछि कर्णाली कमजोर अवस्थामा पुगेको थियो ।

रिजनको एलबीडब्ल्यू धरापमा पर्नुअघिसम्म अर्जुन घर्तीले २३ रन बनाएका थिए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न बागमतीका रिजनले पाँच विकेट लिए । जारी प्रतियोगितामा एकै खेलमा पाँच विकेट पूरा गर्ने रिजन सातौं खेलाडी बनेका छन् । कृजन गुरुङले दुई विकेट लिए ।

७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । बागमतीका आशुतोष घिरैया ९ र रीत गौतम आठ रनमा आउट भए । इशान पाण्डेले ४० र रविन जोशीले १६ रन बनाएपछि बागमती सहजै लक्ष्यमा पुगेको हो । कर्णालीका लागि दिवन पुनले तीन विकेटको योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस