आज वि.सं. २०८१ कार्तिक ०३ गते शनिवार तदनुसार ई. सं. २०२४ अक्टोबर १९ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, चन्द्रास्त : बिहान ०७:२४ बजे र चन्द्रोदय : बेलुका ०६:५१ बजे, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) द्वितीया तिथि, दिउँसो १२:४९ बजेसम्म, त्यसपछि तृतीया तिथि, भरिणी नक्षत्र, दिउँसो ०२:३७ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, बेलुका ०८:१७ बजेसम्म, त्यसपछि बृष राशिमा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन भएकाले अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनोबल र आँतमा कमजोरी देखा पर्नसक्छ, कामधाम र जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र सङ्कटले भरिपूर्ण समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पेसागत र व्यवसायिक परिस्थतिमा सुधार हुनेछ । नयाँ सवारी साधन किन्ने वा साटफेर गर्न योजना बनाउने दिन हो । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ ।