• २०८१ असार ९ गते शनिवार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : बागमतीले कोशीलाई हरायो

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ५, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको बागमती प्रदेशको यो तेस्रो जित र कोशी प्रदेशको लगातार पाँचौँ हार हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ४८.३ ओभरमा अलआउट हुनुअघि दुई सय ७३ रन बनाएको थियो । ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ४७.१ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रनमात्र बनाउन सक्यो ।

कोशी प्रदेशका दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । बागमती प्रदेशका बलर इशान पाण्डे एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा ३९ रन खर्चिए । सूर्य तामाङले पनि दुई विकेट हात पारे । प्रतिक श्रेष्ठ र रिजन ढकालले एक–एक विकेट लिए ।

त्यसअघि बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले शतकीय पाली खेलेका थिए । उनले टोलीका लागि एक सय १८ रनको योगदान गरेका थिए । जारी प्रतियोगितामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो उच्च स्कोर पनि हो । जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पाँचौँ खेलाडी पनि हुन् ।

कोशी प्रदेशका बलर अभ्यास मितिसिनाले तीन विकेट लिए । उनले नौ ओभरमा ४३ रन खर्चिए । हेमन्त राई र कमल खत्रीले पनि दुई–दुई विकेट हात पारे । फिरदोष अन्सारीले पनि एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस