• २०८१ बैशाख ४ गते मङ्गलवार

माता पाथिभराको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर24नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८० फाल्गुन ०५ गते शनिवार तदनुसार ई. सं. २०२४ फेब्रुवरी १७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो १२:२८ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:१४ बजे, सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, माघ शुक्लपक्ष (सिल्लाथ्व) अष्टमी तिथि, दिउँसो ०१:१३ बजेसम्म, त्यसपछि नवमी तिथि, कृतिका नक्षत्र, दिउँसो ०१:३६ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । टेक्निकल वा मिलमेसिनरीको काममा सफलता पाउनुका साथै सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिने राम्रो दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला, नत्र झमेला आउने समय छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ ज्ञान सिक्ने मौका छ, धैर्य एवं लगनशील बन्नसके हाँके÷ताकेको काममा सफलता मिल्नेछ, दिगो लगानीबाट फाइदा हुने दिन हो । सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । घरबाट शुभकार्यको समाचार आउनसक्छ । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस