मंसिर १, काठमाडौं । आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । ‘नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
नेपालमा १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि कफी खेतीको सुरूआत भएको मानिन्छ । नेपालमा शुरूदेखि नै रोपण गरेको कफी अराविका जातको हो ।
अराविका कफी पारखीको पहिलो रोजाईमा पर्ने र विश्वमा कुल उत्पादनको झन्डै ७५ प्रतिशत यही जातको उत्पादन हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा बढ्दै गएको छ ।
नेपालमा उत्पादन भएको कफीले आन्तरिक माग एक महिना पनि नधान्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । साथै नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । तर मागअनुसार आपूर्ति नहुँदा विगत केही वर्ष कफीको आयात बढेकोमा पछिल्ला दुई/तीन वर्षमा न्यून मात्रामै भए पनि निर्यात गर्न थालिएको छ ।
भन्सार विभागको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कअनुसार १३ करोड ४ लाख रुपैयाँ बराबरको ७७ दशमलव ८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको ४ सय ५० मेट्रिक टन कफी आयात भएको थियो ।
त्यस्तै २०८०/०८१ मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४ सय ४३ मेट्रिक टन कफी आयात भएको तथ्याङ्क छ । २०८०/८१ मा नेपालभर झण्डै पाँच सय मेट्रिक टन ग्रीनबीन कफी उत्पादन भएको छ ।
देशभर चार हजार तीन सय हेक्टरमा कफी खेती विस्तार भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ ।
आजदेखि लागू हुनेगरी बोर्डले विभिन्न जातका कफीको नयाँ मूल्य निर्धारण गरेको हो । हरेक वर्ष बोर्डले कफीको नयाँ मूल्य निर्धारण गर्ने गरेको छ । नयाँ मूल्यअनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रतिकिलो एक सय ५ रुपैयाँ र ग्रेड ‘बी’ को ९५ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
यस्तै, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को पाँच सय ३५ र ग्रेड ‘बी’ को प्रतिकिलो चार सय ८२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । ड्राइ चेरी ग्रेड ‘ए’ कफी किलोको दुई सय ८० र ग्रेड ‘बी’ को दुई सय ४७ रुपैयाँ मूल्य निर्धारण गरिएको बोर्डले जनाएको छ ।