आज वि.सं. २०८१ आश्विन ३० गते बुधवार तदनुसार ई. सं. २०२४ अक्टोबर १६ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, चन्द्रोदय : साँझ ०४:१७ बजे र चन्द्रास्त : भोलि बिहान ०४:३९ बजे, सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) चतुर्दशी तिथि, बेलुका ०७:५० बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, उत्तराभाद्रा नक्षत्र, बेलुका ०७:२६ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने राम्रो दिन छ । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ, नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । गर्दै नगरेको र थोरै सहभागिता जनाएको कुनै काममा फँस्नसक्ने समय छ, अथवा कुनै झूठो आक्षेप व्यहोर्नुपर्ने वा झगडा हुने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन/दिन सकिने समय हो । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध/सम्पर्क गर्ने दिन हो । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ । कामको बोझ बढ्नेछ ।