• २०८१ जेष्ठ ३० गते बुधवार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : सुदूरपश्चिमको दोस्रो जित

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २, बुटवल । तीन खेलाडीको अर्धशतकको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । त्यसक्रममा सुदूरपश्चिमले आज भैरहवामा भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कर्णालीको यो पहिलो हार हो ।

भैरहवास्थित सिद्धार्थ रंगशाला मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो । उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए ।

यस्तै, अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोड्न सफल भए । सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खडक र टेकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए ।

किरण ठगुन्नाले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोडे भने नारायण जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । राजु रिजालले १९ र नरेश भट्टले १५ रनमा बनाए । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कर्णाली ३७.२ ओभरमा अलआउट हुँदै १४३ रनमै अल आउट भयो । सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए । विकाश आगरीले २, नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए । कर्णालीका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस