• २०८१ जेष्ठ ६ गते आइतवार

बागमतीमा बढ्यो मन्त्रालयकाे सङ्ख्या, आलेकाे तोकियाे जिम्मेवारी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि प्रदेशमा कायम रहेको १२ मन्त्रालयलाई विभाजन गरी १३ वटा कायम गरिएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या १३ पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएकी रमा आलेमगरलाई मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकिएको हो । मन्त्री आलेमगरलाई प्रदेशको सामाजिक विकास मन्त्रालय विभाजन गरी जिम्मेवारी तोक्ने निर्णय गरिएको उनले बताए । मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको उनको भनाई छ । मन्त्रालय विभाजनसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कर्मचारी व्यवस्थापन गर्ने र उपयुक्त स्थान हेरेर मन्त्रालय खडा गरिने प्रवक्ता श्रेष्ठले बताए ।

गत वैशाख २० गते मन्त्री नियुक्त भएकी आलेमगरले ४३ दिन पछि विभागीय जिम्मेवारी पाएकी हुन् । जिम्मेवारी पाएलगत्तै उनले मन्त्रालय व्यवस्थापन र बजेट तथा कार्यक्रम निर्माणमा भूमिका खेल्ने बताइन् । तत्कालका लागि भाडाको घर खोजेर मन्त्रालय खडा गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस