साउन ३०, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागको १९औं बैठक आजदेखि शुरू भएको छ । स्कुल विभागको बार्षिक कार्ययोजना निर्माण, पार्टी स्कुल सञ्चालनसम्बन्धी रणनीतिक योजना (अवधारणापत्र)माथि छलफल र निर्णय यस बैठकका छलफलका प्रमुख विषय रहेका छन् ।
बैठकको पहिलो सत्रमा प्रमुख अतिथिका रूपमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्देशनात्मक मन्तव्य राख्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले नेताकार्यकर्तालाई निरन्तर वैचारिक तथा राजनीतिक प्रशिक्षणका लागि पार्टी स्कुलको स्थायी संरचना आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– प्रशिक्षण चलाउने कुरा अरू विभागको जस्तो काम नभएकाले छुट्टै संरचना जरूरी छ ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको ११औं महाधिवेशनसम्म सातै प्रदेशमा पार्टीका स्कुल संरचना खडा गर्नसक्दा महत्वपूर्ण र ऐतिहासिक काम हुने बताउँदै त्यसका लागि स्कुल विभाग र प्रदेश तहको पार्टीपङ्ती परिचालित हुनुपर्ने बताउनुभयो ।
पार्टी स्कुलले सञ्चालन गर्ने प्रशिक्षण, त्यसको परीक्षा र परिणामलाई पार्टीभित्र साङ्गठानिक जिम्मेवारी दिने कुरामा र राजकीय जिम्मेवारीका लागि मूल्याङ्कनको विषय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– यस विषयमा स्कुल विभागबाट सशक्त प्रस्ताव आउनुपर्छ, अन्यथा पार्टीभित्र सिर्जना भइरहेका, देखापरिरहेका विकृति र विसङ्गति चलि नै रहने छन् ।
पार्टी स्कुलको यस १९औं बैठकमा गहन छलफल गरी स्कुलको स्थायी संरचना निर्माणसहितको कार्ययोजना र प्रशिक्षण सञ्चालनको रणनीतिक योजना पार्टीमा ल्याउन निर्देश गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले समसामयिक तथा नयाँ विकसित राजनीतिका सन्दर्भ पनि स्कुलले हाते नोटबुक तयार गर्नसक्यो भने कार्यकर्ताका लागि विषय बुझ्न र समान धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकको अध्यक्षता गर्नुभएका पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले स्कुल विभागको हालसम्मको कामको सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विभाग गठन भएयता हालसम्म आधारभूत तहको पाठ्यक्रम तयार गरी सो बमोजिम पाठ्यपुस्तक प्रकाशन गरिएको, माध्यमिक तह र उच्च तहको पाठ्यक्रम परिमार्जनको अवस्थामा रहेको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले यसबीचमा स्कुल विभागले पाठ्यक्रममा आधारित नियमित प्रशिक्षण र समसामयिक विषयमा अभिमुखीकरण गरी दुईखालका प्रशिक्षण चलाएको जानकारी गराउनुभयो ।
उहाँले स्थानीय निर्वाचन अघि सात प्रदेशमा गरिएको प्रशिक्षणबाट २८ सय अगुवा कार्यकर्ता प्रशिक्षित भएको, पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल प्रारम्भमै र कार्यकालको दुईबर्ष पूरा गरेपछि प्रशिक्षण दिइएको, प्रदेश तहको प्रशिक्षण सञ्चालन गरी ४०८ जना प्रशिक्षक तयार गरिएको, पार्टीका २३ जनसङ्गठनमध्ये १४ वटा जनसङ्गठनका प्रशिक्षण सम्पन्न भई ६२५ जना प्रशिक्षक तयार भएको जानकारी गराउनुभयो ।
त्यसैगरी प्रदेश कमिटीमा लेखा र वित्त हेर्ने प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई लेखा तथा वित्त विषयमा प्रशिक्षण दिइएको छ भने पार्टीमा नवप्रवेशीहरूका लागि पनि आधारभूत जानकारीमूलक प्रशिक्षण सञ्चालन गरिएको थियो । पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा स्कुल विभागले कार्यशाला सञ्चालन गरेको र कार्यशाला प्रभावकारी भएको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले स्कुलले सञ्चालन गरेका प्रशिक्षणका विषयवस्तुका बारेमा पनि जानकारी गराउनुभएको थियो । पार्टी स्कुलले विगत करिव साढे दुईबर्षको अवधिमा गरेका कामबाट पार्टी स्कुलको काम पार्टी कामको अङ्ग बन्न शुरू भएकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो ।
बैठकमा स्कुल विभागका सचिव घनश्याम कोइरालाले पार्टी स्कुल सञ्चालनसम्बन्धी रणनीतिक योजना (अवधारणापत्र) प्रस्तुत गर्नुभएको थियो । उहाँले अवधारणापत्रमा उल्लेख गरिएका विभिन्न विषयहरूमाथि प्रकाश पार्नुका साथै पार्टीका प्रशिक्षणहरू आवासीय हुनुपर्ने तथा हाल सञ्चालन गरिएजस्तो तीन दिनेमात्रले नपुग्ने देखिएकाले कम्तीमा साता, दशदिन प्रशिक्षण दिने विषयमा छलफलका लागि प्रस्ताव गरिएको बताउनुभयो ।
आजसम्म चल्ने बैठकले बार्षिक कार्ययोजना र पार्टी स्कुल सञ्चालनसम्बन्धी रणनीतिक योजना पारित गर्ने कार्यक्रम रहेको छ ।