• २०८१ असार ९ गते शनिवार

गणेश भगवानको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर24नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८० फाल्गुन ०१ गते मङ्गलवार तदनुसार ई. सं. २०२४ फेब्रुवरी १३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : बिहान ०९:१६ बजे र चन्द्रास्त : बेलुका ०८:२४ बजे, सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:५१ बजे, माघ शुक्लपक्ष (सिल्लाथ्व) चतुर्थी÷चौथी तिथि, बेलुका ०८:१३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, उत्तराभाद्रा नक्षत्र, साँझ ०५:५६ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विशेष कामले गर्दा काम छाडेर बाहिर निस्कनुपर्ने परिस्थिति छ, त्यस्तै मन मिल्ने साथी वा आत्मीय जनको स्वास्थ्यगत समस्याले पनि चिन्ता बढाउन सक्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँके÷ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । भाग्यबल बलियै देखिन्छ, तथापि भाग्यमा भन्दा पनि आफ्नै बुद्धि र श्रममा भरपर्ने समय हो, नचिताएको स्रोतबाट अचानक धनलाभ हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । पारिवारिक सुखमा कमी देखिंदैन।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । आफन्तहरूसित सुसम्बन्ध हुने र सहयोग पाइने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । धनको कारोबारमा जोखिम र रिस्क भएको दिन हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।

प्रतिक्रिया दिनुहोस