• २०८१ जेष्ठ ६ गते आइतवार

नागरिकलाई साथमा लिएर कार्यसम्पादन थप उत्कृष्ट बनाउँदै लैजान्छौंः डीआईजी खत्री

सिमा गुरुङ पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ३०, भैरहवा । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिकुमार खत्रीले आमनागरिकलाई साथमा लिएर कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउँदै लैजाने बताएका छन् । सशस्त्रका हरेक गतिविधिमा अहिलेसम्म आमनागरिकको साथ र सहयोग पाइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि सबैको सहकार्यमा कार्यसम्पादनलाई प्रधावकारी बनाउने उल्लेख गरेका हुन।

सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीको १७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित विशेष समारोहमा नागरिकको साथ र सहयोग सहित हातेमालो गरेर अघि बढ्न डीआईजी खत्रीले अनुरोध गरेका छन । उनले नागरिकले तिरेको करबाट संकलित राजस्व (उठेको रकम) बाट सेवा लिएर सेवा प्रदान गरिरहेकाले सबै नागरिकप्रति जवाफदेही हुने विश्वास दिलाए ।

उनले आफ्नो कर्तव्यमा अनुशासित, लगनशील र मिहिनेतका साथ कार्य गर्न उनले मातहत सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले शान्ति सुरक्षा कायम राख्न सशस्त्र प्रहरी बलको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गर्दै आएको योगदान उत्कृष्ट रहेको बताए । उनले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरे । ‘ सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गणपति (एसपी) आनन्द थापा मगरले संगठनको क्रियाशिलतामा आगामी दिनमा पनि कुनै कमी आउन नदिने दृढता व्यक्त गरे ।

वार्षिकोत्सव समारोहका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी सशस्त्र प्रहरी कर्मचारीहरु, उत्कृष्ट कार्य गर्ने र शहीद परिवार तथा यो वर्ष गणबाट अवकाश प्राप्त हुने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस