फागुन २६, वीरगञ्ज । बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर नगद लुटपाट गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारणका २७ वर्षीय अखिलेश कुमार साह रहेका छन् ।
बारा आदर्श कोतवाल गाउँपालिका–८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगञ्जतर्फ बस चढेर आइरहेको अवस्थामा साहले मिठाइ र बिस्कुट खुवाएर बेहोस बनाएर लुटपाट गरेका थिए । मुखियाको साथबाट ४१ हजार ५ सय रुपैयाँ र एउटा मोबाइल लुटिएको थियो ।
साहलाई वीरगञ्ज महानगरपालिका–१६ भानुचोकबाट पक्राउ गरिएको र साथबाट ३७ हजार ४१० र मोबाइल पनि बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । पक्राउ परेका साहलाई चोरीसम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको थापाले बताए ।