असोज २२, काठमाडौं । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु भएको छ । महानगरपालिका, कार्यपालिकाको आजको बैठकमा पशुपति गौशाला धर्मशाला सञ्चालन कार्यविधिको मस्यौदाका बारेमा छलफल सुरु भएको प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिनुभयो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे भनी पत्राचार गरेपछि आज कार्यपालिका बैठक बसी कार्यविधिको मस्यौदाका बारेमा छलफल सुरु गरेको उहाँले सुनाउनुभयो । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आइतबार मन्त्रालयमा बसेको बैठकले पशुपति गौशाला धर्मशाला महानगरपालिकालाई सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ । निर्णय लगत्तै कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई पत्राचार गरेपछि कार्यविधि निर्माण गर्न लागिएको हो ।
महानगरपालिकाले दसैँपछि नै गौशाला धर्मशाला सञ्चालन गर्ने तयारी गरेको छ । महानगरपालिकाको संस्कृति, पर्यटन एवं सम्पदा समितिको प्रमुखसमेत रहनुभएका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतको संयोजकत्वमा पशुपति गौशाला धर्मशाला सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।
भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको थियो । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको थियो ।
कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनःबहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिले दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको बताउनुभयो । यससँगै कोष र समितिबीच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय सदर भएको छ । अब मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं ८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा कोषमै फिर्ता भएको सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।
अदालतको फैसलाले पशुपतिनाथको सम्पत्ति फिर्ता भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । “वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि भगवान् श्री पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला प्रयोग भएको थियो । हाम्रो लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको पशुपतिनाथको सम्पत्ति फिर्ता भएको छ । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिने छ,” सदस्य सचिव थापाले भन्नुभयो ।