अनौपचारिक भाषाशैलीलाई सुन्ने÷हेर्ने हो भने चारैतिर बेरेर घरको वरिपरि सुरक्षित पारेको ठाउँ हो कुँडार । परिष्कृत भनिने भाषा शैलीमा भन्ने हो भने करेसाबारी । हाम्रा गाउँघरतिर भन्ने गरिएको स्थानलाई नियाल्दा घर अघिल्तिर जहाँ सागपात र फलफुलका बोटले स्थान पाएका हुन्छन्, त्यसलाई भन्ने गरिन्छ कुँडार । बाल, वृद्ध कुनै पनि खानपिनबाट वञ्चित हुन नपरोस् भनेर होला खानपानको व्यवस्था घरमा नै गरिने संस्कार रहेको छ । पश्चिमाहरूको भन्दा फरक भनेको नै घरवार अनि खानपिनमा सबै सदस्यको संलग्नता हो भन्दछन् पूर्वीयाहरू । त्यसैको एउटा प्रयोग काँठमा घर घेरेर सिम्किना÷मकैको ढोड÷बाँस÷ निगालाजस्ता सुकेका तर नभाँच्चिने बस्तु राखेर बनाइने एउटा स्थान हो कुँडार ।
वर्षायाममा सबैतिर हरियाली र लटरम्मले स्थान पाउने भएकोले खासै नयाँपनको खोजी हुँदैन तर हिउँद महिना हरियालीको कमी नाङ्गो र फुस्रोको बाहुल्य हुने भएकोले पनि हरियो–परियोको खोजी हुने गर्दछ । बालवृद्धको लागि पनि ताजा फलफुल तथा तरकारीको सजिलो आपूर्ति गर्नका लागि बार, तगारो आदिको व्यवस्था गरेर सबैलाई सहज तरिकाले खानपानमा सहयोग गर्ने र समुन्नत परिवारको कल्पनासहित कुँडारको व्यवस्थापनको धारणा आएको होलाजस्तो लाग्दछ । विगतलाई नियाल्दा पूर्वीय संस्कारका हिमायती हामीले पनि सामूहिकतामा आफ्नो जीवनशैलीलाई अगाडि बढाइरहेको अवस्था देख्न पाइन्थ्यो हिजोका दिनमा तर आज त्यो अन्यत्र कहाँ–कहाँ दौडिरहेको महसुस हुन्छ ।
काँठे भूगोलमा हुर्किने बस्तुभाउले हिउँदको महिनामा सुकेको परालको भरमा आफ्नो जठाराग्निलाई शान्त बनाउनुपर्ने बाध्यता रहन्छ । हरियोपरियोे बिरलै देख्ने भएर होला, बिचराहरू कुँडारको सागपातमा हत्ते हाल्ने गरेको देखिन्थ्यो । सरसर्ती हेर्दा पनि पहाडमा भए रूखको घाँस (स्याउला) ले स्थान पाउने सो समय काँठको हकमा भने उराठलाग्दो नै हुन्छ । जङ्गल छिर्न पायो भने खाला स्याउला नत्र त उही पराल र ढोडकै भर हो ।
जीवले खानको लागि सर्वप्रथम आँखा, त्यसपछि नाक अथवा कान, पछिमात्र मुखको प्रयोग गरेर खाने गर्दछ भनेर जानकारहरू भन्दछन् । अन्यत्र फुस्रो माटाका डल्ला देखेपछि घरको वरिपरि हरियो–परियो देखेर बस्तुभाउले झम्टिनु अन्यथा पनि भएन । हरियो–परियोेबाट रुख्खिएका बस्तुभाउले खाइदिन्छन् भनेर होला, सुकेका मकैका ढोडको बार लगाएर राख्ने चलन अधिकांश काठमाडौंको काँठमा हुन्थ्यो । वोल्लो डाँडाबाट हेर्दा पल्ला डाँडाघरेको कुँडार हरियाली देखिएमा त्यस घरकी बुहारी लच्छिनकी रहिछे कुँडार त त्यत्ति हरियाली राख्न सकेकी छ भने घरपरिवार कति हरियाली होलान् भनेर खानदानी तारिफ हुने गर्दथ्यो । हजुरबापिँढीका अग्रजले भनेको सुकेको थिएँ— छोरी दिने घरकेटाका परिवारको मेहनतीपना जाँच गर्ने अस्त्र पनि कुँडारको हरियाली हुन्थ्यो रे ! रायोको साग, धनिया, चमसुर, पालुङ्गो, मूला, गान्टेमूला, काउली, बन्दाकोभी आदि हरियाली देखिने सागपात भए ।
कुँडारमा तयार पारिने रायोको साग कार्तिकदेखि चैत्रसम्म मात्र हुने भएकोले यसलाई अन्य महिनामा पनि प्रयोग गर्न सकियोस् भनेर रूप परिर्वन गरी राख्ने चलन थियो । यसरी सागको रूप परिवर्तन गर्दा त्यसको स्वादमा पनि परिवर्तन हुने गर्दछ । ठाडै घाममा सुकाएर राखेर खाने वेलामा पानीमा ढड्याएपछि तरकारीको रूपमा प्रयोग गर्नै चलन थियो पहिले । त्यसैगरी सागलाई ओइल्याएर घैटो वा गाग्रोमा साग र थोरै पानी राखेर सूर्यको किरणमा तीनचार दिन राख्दा त्यो साग रङ्गमा पहेँलो र स्वादमा केही अमिलो बास्ना आउने भएपछि भाँडोबाट बाहिर निकालेर सूर्यको किरणमा सुकाएर त्यसमा भएको पानीको मात्रा सबै उडिसकेपछि तयार हुने तरकारी वा अचारको रूपमा खाइने बस्तु हो ‘गुन्द्रुक’ । जसलाई उत्तम उपमा वा व्यङ्गात्मक शैलीमा भन्नुप¥यो भने— घैँटेकाउली÷राष्ट्रिय तरकारीको संज्ञा दिएको पाइन्थ्यो । यसको उत्पादन हुने मौसम –कार्तिकदेखि चैत्रसम्म तयार पारेर राखिने र बेमौसममा छिटो–छरितो गरेर तरकारी तथा अचारको रूपमा प्रयोग गरेर छाक टार्न सकिन्छ भनेर अधिकांश काँठेले तयार पारेर राख्ने चलन थियो । त्यसैगरी मूलालाई पनि चाना बनाएर सुकाएर राख्ने तथा घैँटामा खाँदेर अमिल्याएर सुकाएर सिन्कीको रूपमा तयार पारेर राख्न सके वर्षा र साग÷मूलाको उत्पादन नहुने समयमा सजिलो हुन्छ भनेर तयारीमा खटिने जनशक्ति पनि नयाँ नभएर घरमुली आमै आफैले भ्याउनुपर्ने अवस्था हुन्थ्यो । आमैले नभ्याउने भए बालबच्चालाई सहयोगीको रूपमा लिएर कार्य फछ्र्यौट गर्ने, त्यसरी पनि नभ्याएमा साँझ–बिहान मेलापातबाट घर फर्किएपछि आरामको समयलाई प्रयोग गरेर वयस्कहरूसमेत मिलेर तयार गरिने गरेको देखिन्थ्यो÷भोगिन्थ्यो । अन्य स्थानमा मानिसलाई गुन्द्रुक, सिन्की आदि चाहनाको विषय हुने भएर होला शहर आदि स्थानमा कोसेलीको रूपमा पठाउने चलन पनि थियो । आज काँठमा बेमौसमी खेती भन्दै टनेलमा तरकारी उब्जन थालेको हुनाले यस्ता परिकारको निर्माण बिरलै हुने गर्दछ । स्वादका पारखी कोही निस्किए भने डिपाटमेन्ट स्टोरतिर खोज्न जानुपर्छ । जहाँ महँगो शुल्क तिरेर भए पनि मानिसले स्वादको तिर्सना मेट्न सक्छ । हिजो तुच्छ मानिने बस्तुको उत्पादनमा न्यूनता आएको हुनाले मोलमा अधिकता आउनु त अर्थशास्त्रको नियमै भयो ।
कुँडारले सहज बनाउने अर्को बस्तु भनेको फलपूmल हो । फलपूmलको कुरा गुर्नपर्दा गुलिया र अमिला दुवै थरिका फल काँठले दिने गर्दछ । गुलिया फलमा सुन्तला, नासपाती, जामुन, हलुवावेद आदि हिउँदको शुरुवातमा नै अर्थात् बारीमा बाली भित्र्याएसँगै यिनमा पनि परिपक्वता आउने हुँदा भित्र्याउने वा खाइसकिने हुन्छ । त्यसलाई पछिसम्मको लागि राख्ने भनेको नै बोटबाट बाहिर ननिकाली हो । लटरम्म पाकेको फल पारीबाट देखिएपछि कसको मनले थाम्न सक्छ र ? त्यसमाथि पनि बालमनोविज्ञानले समातेका बच्चाहरूले झुत खेलेर घरकुरुवा आमैलाई हैरान परेको देख्न सकिन्थ्यो । यस्ता गुलिया जातका फलको रूप परिवर्तन गरेर बेमौसममा प्रयोग गर्न सकिँदैन । त्यसकारणले पनि पाकेपछि बाँडेर खाने चलन चलेको होला ! ज्यामिर, निबुवा, कागतीजस्ता अमिलो प्रजातिका फलको प्रयोग मौसम तथा बेमौसममा समेत गर्न सकिन्छ । यस्ता फल पाकेपछि काँठको कोलमा पेलेर वा हातले नै निचरेर ठोसबाट तरलमा परिणत गरिन्छ । अमिलो झोललाई आगोको तापले पकाएपछि लस्सादार पदार्थमा परिणत हुन्छ । यसरी तयार भएको कालो रंगको अमिलो पदार्थलाई चुकको संज्ञा दिइन्छ हाम्रो काँठमा । यसको प्रयोग बेमौसमा अमिलोको रूपमा प्रयोग गर्नु त छँदै छ, औषधीको रूपमा समेत प्रयोग गरेको आफ्नै अनुभव छ । हातखुट्टा ठोक्किएमा मर्किएमा चुकलाई तताएर लेप बनाएर दुखेको स्थानमा लगाई त्यसमाथि काम्रो बाँध्दा सजिलै आराम भएको अनुभव त मसँग पनि छ ।
लौसी अमिलोको रूपमा प्रयोग हुने अर्को फल हो । जो विश्वमा नेपालमा मात्र पाइने र नेपालको पनि काठमाडौँको काँठक्षेत्रमा मात्र पाइने वनस्पतिभित्र पर्दछ भन्दछन् जानकारहरू । यो फल पनि अन्य अमिलो प्रजातिका फल पाइने मौसममा पाइने हुँदा मीनपचासको बिदामा बच्चा केटाकेटीहरूको बास नै यही लौसीको रूखमुनि हुन्थ्यो । स्वरसम्राट् नारायणगोपाल मलेगुले गाएको एउटा गीत –‘फाँटहरूले कसलाई पुग्छ, भीरमा पनि फुलिदिन्छु…’ भने झैँ यो फलको रूखको लागि मलिलो भूमिको आवश्यकता पर्दैन । भीर र कान्लाकुन्लीमा पनि मजाले फल्ने गर्दछ ।
लौसीको रूख ठूलो तथा भीरपाखामा हुने गर्दछ । रूखमा चढेर टिप्न असजिलो हुने भएर होला काँठमा झट्टी र ढुङ्गा घुयत्रोका माध्यमबाट झार्नेको हुल पनि देखिन्थ्यो । लटरम्म पाकेको पहेँला सानो फल अनि गाँड लागेर झुप्पिएको देख्दाको स्वादले नै मुखमा पानी आउने खालको हुन्थ्यो । यसलाई पनि बेमौसममा अधिक प्रयोग गर्ने गरिन्छ । माडा तथा धुलो बनाएर राख्ने चलन पहिले हुन्थ्यो । आज ती रूखले कसका शरण परेका होलान्, बारीमा कङ्क्रिट पलाइसकेपछि । बिरलै स्थानमा यसले आफ्नो अस्तित्व जोगाइराखेको होला ! धन्य धर्तीमाताले सहिरहेकी छिन् काँठको अतिदोहन, कुन दिन धैर्यको बाँध फुट्छ अनि सर्वनाश ।
रायोको सागबाट बनेको राष्ट्रिय तरकारी वा घैँटेकाउलीको उपमा पाउने ठट्यौली शब्द कहाँ पुगे, कहाँ पुगे । सुन्तला, हलुवावेद लटरम्म हुँदा देखिने हरियो भुँइमा हल्का उठेको सुन्तला रंगले मन खुबै प्रफुल्लित गर्न सक्थ्यो टाढैबाट देख्नेको समेत । त्यसमा आँखाको साथै जिब्रोले समेत स्वाद लिन पायो भने के चाहियो र ! त्यस वेलाको आनन्दको व्याख्या गरेर के साध्य ? कागती ज्यामीर भोगटेले दिने अमिलो र काँठको बारेमा लेखेर साध्य होला र !
त्यही सप्रिएको कुँडारको भरमा आफ्नै गाउँ वा वोल्लापल्ला गाउँका मानिसले आफुसँग आएर आफ्नो घरमा यसपाली यस्तो बस्तु (फलफुल तथा तरकारी) भएन भनेर भनेको सुनियो भने त्यसलाई आफुसँग भएको दिएर पठाउने सद्भाव सबैमा रहेको हुन्थ्यो । आफ्नो हात माथि पार्न पाइयो भने खुसी हुनेको सङ्ख्या अचाक्ली हुन्थ्यो । पूर्वीय संस्कार पनि हो, बिहान आपूmले खाना खानुभन्दा अगाडि केही अरूलाई दिएर खाने अर्थात् आफ्नो हात माथि पारेर जिउने । त्यसमाथि पनि सागपात, फलपूmल र गोरस भने बाँडेर नै खाएको राम्रो भन्ने संस्कृति काँठमा थियो । यसलाई पैसासँग साट्न थालेको त बिस्तारै अन्य स्थानका मानिसको बहुलता भएपछि मात्र हो । मानिसको बस्ती बढेर जाने र उब्जनीको मात्रा घट्न थालेपछि मात्र पैसासँग साट्न थालिएको हो अन्यथा बस्तु विनीमयमा नै जीवन चलिरहेको देखिन्थ्यो । एैँचोपैँचोले नै व्यवहार चलाउने संस्कार हाम्रा काँठका प्रदान विषयहरूभित्र पर्नेमध्येको एउटा थियो ।
काँठक्षेत्रको भूगोल र उव्जनीको कुरा गर्ने हो भने भिरालो बारीमा पानी नजम्ने कारणले मकै, भटमास, कोदो, घैया, तोरीजस्ता कम पानीले पनि फल्ने बाली लगाइन्थ्यो । त्यसले गर्दा बारीमा वर्षायाममा मकैका बोट र कोदाको हरियालीले झुलेको देखिन्थ्यो भने हिउँदमा कतै तोरी र कतै फुस्रो माटोले आफ्नो पन देखाइरहेको हुन्थ्यो । बारीको कान्लामा हुने गहत, मस्याङजस्ता वर्षामा फल्ने र हिउँदमा खान हुने कोसेबालीले पनि स्थान पाएका हुन्थे । त्यसैगरी कान्लाकै छेउमा रोपिन्थे, जमिन मुनि फल्ने तरुल र लहरामा फल्ने इस्कुस । जमिनभित्र फल्ने बस्तुहरू– आलु, सखरखण्ड, पिँडालु, अदुवा, हलेदो (बेसार)का नाम आउँदछन् । मकैको बोटलाई थाक्रो बनाएर फल्न सफल हुने बोडी र सिमीले पनि त्यस वेला तरकारीको भूमिका निभाउन सफल हुन्थे । काँक्रा, फर्सीले त पछिसम्म पनि घरका अटालीमा शोभायमान पाउँथे । मङ्सिर महिनामा नाम उच्चारण नगरी खाएमा गति परिन्छ भन्ने लोकोक्ति रहेकोले पनि मंसिरेको अचार भनेर पाकेको काँक्राको अचार बाँड्दै हिँड्ने पल्ला गाउँकी आमैको स्वर अहिले भरखर सुनेजस्तो लाग्दै छ तर आमैले यस धर्तीबाट बिदा लिएसँगै यो बाँडी खाने संस्कृति पनि लिएर गइछिन् कि क्या हो ! केही देख्न÷सुन्न पाएको छैन ।
मौसम अनुसारको हिउँदे र बर्खेबाली, कागती, निबुवाजस्ता अमिलो जातका तथा हदुवावेद, सुन्तलाजस्ता गुलियो जातका फलफुल, विश्वको बिरलै स्थानमा फल्ने अमिलो जातिको फल, लौसी यसै काँठको गहनाको रूपमा रहेको देखिन्थ्यो । फलपूmल तथा सागपातले सिँगारिन सफल भूगोल मैले देख्दा काँठ नै थियो । हिउँद महिना नुन, खुर्सानी, बेसार, सिलामको छोप वा दही, मोहीमा अलिकति गुलियो राखेर साँधेको निबुवा, भोगटेमा मिसाएको सुन्तलाले दिने स्वाद सम्झँदा मुखमा पानी आउँछ । कहिलेकाहीँ पहिलो पिँढीमा महिलासदस्यले आफुभन्दा तल्ला केटाकेटीलाई देखाउँदै यसरी खाने हो भन्दै जिब्रो पट्काउने गरेको दृश्य पनि दिमागले बाहिर ल्याउन भ्याउँछ, तर आज त्यस्तो मिलाएर राख्न सक्ने परिपाटीको सृजना गर्न सक्ने पिँढी खोई कहाँ पुग्यो ? परिकार बने पनि बाँड्ने चलन बस्ती बढेसँगै विनाश भएर गयो । वास्तविक रूपमा हालको अवस्थालाई नियाल्ने हो भने ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ । म बाचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू ।।’ भने झैँ सबै मानिस दौडिरहेको देखिन्छ ।
कसैका बारीमा बदाम रोपिएको रहेछ भने हिँउदमा गाउँका बच्चाहरू सबैको अधिकांश समय त्यतैतिर बित्ने गर्दथ्यो । थोरै उब्जनी हुने भएर हो कि किन हो ? बच्चाहरूलाई वयस्क र बुढापाकाहरूले बदाम खन्ने स्थानमा सकेसम्म जान दिँदैन थिए । बदाम खान गाउँमा सत्यनायणको पूजा वा पुसमा आइतबार गरिने सूर्यको पूजा वा माघमा गरिने स्वस्थानीको कथापछि बाँडिने प्रसादलाई पर्खनुपथ्र्याे । आफ्नै अनुभवलाई खोतल्ने हो भने पनि— बाली भित्र्याइसकेपछिको जमिनमा सिला खोजेर बदाम भेट्टाउँदाको जोसिलो अनुभव बेग्लै हुनु स्वाभाविकै मान्नुपर्छ । हिउँदका महिनामा गाईबस्तुको गोबर (कम्पोष्ट) मल बारीमा फिजाउन लाग्ने खेतालाहरूको लस्कर र मलको थुप्रो देख्दा हेरिरहुँजस्तो लाग्ने गर्दथ्यो । सानो उमेरमा सिपाहीले कवाज खेल्न उभिएको जस्तो लागेर खुब हेरिरहन्थे । जमिनको घाँसपात सुकेपछि बस्तुभाउलाई खुवाउन भनेर बारीका कान्लामा लगाइने खस्रेतो, कुटमिरो, चुलेत्रो तथा टाँकीका रूखले चैत्र वैशाखको गर्मीमा सिंयाल ताप्न आउनेलाई सहयोगीको भूमिका निभाउँथे । आज ती शीतल छहारी कहाँ पुगे, कहाँ पुगे ? सबै मानिस घरभित्र नै पङ्खा, एसी चलाएर आउने कृत्रिम हावाको स्वादमा आपूmलाई लालायित बनाएर त्यसकै पछि दौडिरहेको देखिन्छ । बाध्यता भनौँ कि रहर, मानिस सार्वजनिक स्थान निर्माण गर्ने र त्यस्ता स्थानमा रमाउन नचाहनेको जमघट काँठमा बढेको छ । त्यसैले अन्तस्करण भन्छ के साँच्चिकै अवसान भएको होे त मेरो काँठको ?