• २०८१ असोज १ गते मङ्गलवार

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, नुवाकोट। गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ । सुत्केरी महिलालाई काठमाडौं ल्याउन गोर्खा गएको हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको फिस्टेल एयरका अपरेेशन्स विभागका रमेश शिवाकोटीले जानकारी दिए । हेलिकप्टरमा चालक र एक बालकसहित ७ जना सवार थिए ।

नाइन एन एके ए कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा गोरखाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमती अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँच दिनको नवजात शिशु, सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

हेलिकप्टर पाइलट रञ्जन लिम्बुले चलाएका थिए । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले बताए । पोखरेलका अनुसार शवहरु घटनास्थलमा शव टुक्रिएर छरिएका छन् ।

हेलिकप्टर दुर्घटना भएको स्थानमा घना जंगल छ र उक्त स्थानबाट धुवाँ आइरहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस