• २०८१ माघ ९ गते बुधवार

तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार, सबैभन्दा धेरै काठमाण्डौमा खपत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, काठमाण्डौ । यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै खपत काठमाण्डौ उपत्यकामा भएको फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष दिलीप बादेले बताउनुभयो ।

उहाँका अनुसार गएको वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको कम्तीमा एक सय रुपैयाँ तिर्नुपरेको थियो ।

काठमाण्डौ महानगरपालिकाले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उहाँले बताउनुभयो । बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ ।

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताउनुभयो ।

काठमाण्डौ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उहाँले जानकारी दिनुभयो ।

पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

प्रतिक्रिया दिनुहोस