• २०८१ असोज १ गते मङ्गलवार

संसद्‌बाट नभ्याए अध्यादेशबाट दर्जन कानुन संशोधन गर्छौं : अर्थमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, वीरगन्ज। अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको वैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नै प्रश्न शीर्षकको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भरसक संसद्‌बाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी सङ्कुचन गर्ने ठानिएका दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरिने मन्त्री पुनको भनाइ थियो । त्यसका लागि राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति कायम गरिने उनले बताए । ‘भरसक संसद्‌बाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानुन संशोधन गर्छौं । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउँछौँ,’ मन्त्री पुनले भने ।

तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ चैतमा हुँदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गरे ।

विदेशी मुद्राको सञ्चिति बढेको, महँगी घटेको, विप्रेषण आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको उनले बताए । आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा अर्थमन्त्रीले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस