• २०८१ जेष्ठ ३१ गते बिहिवार

स्वाधीनतामा आँच पुग्ने गरी सरकारले सम्झौता गर्‍यो : वरिष्ठ उपाध्यक्ष पोखरेल

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत् खरिद सम्झौता गरेको आरोप लगाएका छन् । शनिबार च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा सरकारले गरेको विद्युत् खरिद सम्झौतामा नेपालको स्वाधीनतामाथि आँच आउने खालको प्रावधान रहेको बताए ।

उनले भारतीय विदेशमन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग परामर्श नगरेको भन्दै आपत्ति जनाए । सत्ता गठबन्धनले मुलुकको स्वाधीनता र स्वतन्त्रताको मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै उनले त्यसलाई चिर्न राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्ता गठबन्धनले सामाजिक सद्भावमाथि आँच पुर्‍याउने काम गरिरहेको भन्दै त्यसलाई जोगाउन सबैलाई एमालेमा गोलबन्द हुन आग्रह गरे । “सामाजिक सद्भावको जगमा हाम्रो राष्ट्रिय एकता टिकेको छ ।

सामाजिक सद्भाव खल्बलियो भने हाम्रो राष्ट्रिय एकता पनि कमजोर हुन पुग्छ,” उनले भने, “हाम्रो स्वाधीनतामाथि आँच पुग्न सक्छ भन्ने मान्यता एमालेले राखेको हो । अहिले त्यसैमाथि आँच पुर्‍याउने कोसिस गरिँदै छ ।”

प्रतिक्रिया दिनुहोस