असोज १७, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गर्नुभएको छ । गोरखा म्युजिक काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो गीतको लोकार्पण गर्नुभएको हो ।
गीतको लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलस्रोतको धनी देश नेपालले पानीको सदुपयोग गर्नुपर्नेमा जोड । उहाँले पानीको राम्रोसँग व्यवस्थापन गर्नसके मुलुकलाई प्रगतितर्फ डो¥याउन सकिने उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले अहिले मुलुक बाढी, पहिरोबाट आक्रान्त रहेको उल्लेख गर्दै सबै मिलेर विपद्मा सहयोग गर्नुपर्ने बताउनुभयो । दुःख र सङ्कट परेका बेला सङ्गीतले व्यक्तिलाई आनन्द दिने उहाँको भनाइ थियो ।
कार्यक्रममा गीतका रचनाकार तथा गायक बमबहादुर कार्कीले पानीको महत्व उजागर गरेर गीत लेखेको बताउनुभयो । “हामी पानी बिना एकछिन पनि रहन सक्दैनौँ । त्यसैले पानीलाई सम्झेर मैले गीत रचना गरेको हुँ”, उहाँले भन्नुभयो ।
उक्त गीतमा कार्कीसहित अर्जुन सुनाम र लोचन भट्टराईको स्वर तथा सङ्गीत बिवी अनुरागीको रहेको छ । गीतको श्रव्यदृश्यमा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर र सगुन कार्कीले अभिनय गर्नुभएको छ ।