आज वि.सं. २०८० चैत्र २१ गते बुधवार तदनुसार ई. सं. २०२४ अप्रिल ०३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो ०१:०५ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:४४ बजे, सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे, चैत्र कृष्णपक्ष (चिल्लागा) नवमी तिथि, दिउँसो ०२:०२ बजेसम्म, त्यसपछि दशमी तिथि, उत्तराषाढा नक्षत्र, साँझ ०५:५० बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शङ्कास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूणर् कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु होला । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । आज धार्मिक स्वभाव र परोपकारी मिजास प्राप्त हुने समय हो । पेसागत काम नोकरी वा व्यापार वृत्तिबाट राम्रो धनार्जन गर्ने समय छ ।